असार


(कविता)
असार
🌻 🌻 🌻 🌻 🌻
मलाइ थाहा छोरा
जेष्ठ महिनामा मकै भाँचे पछी
काले हनुवा गोरु
नारेर जोत्दै जादा
लामा अनि तिखा मकैका ढोडहरुले
काटेका तेरा खुट्टाका पैतालाहरु
कति चहर्याउथे भन्ने कुरा -
हिलाम्मे खेतमा पाकेको भदै धान
असार महिनाको टन्टलापुर घाममा
तैले ...देब्रे हातले काटेर एक एक मुठ्ठी
आलिमा राखेर बिटो बनाउदै
आली आली घरको आँगन सम्म पुग्दा
ति धानका नरुवाले पासेका तेरा पिडुलाबाट
चर्र चर्र बगेका रगतको अनुभव मलाइ -
भदै धान काटे पछी
त्यो नरुवा सहितको खेत जोत्दा
हलोमा लागेको लुडीको गुजुल्टो
फल्दा करुवाले तेरो पैताला तासेको
बिर्सेको छैन यो बुबाले
अनि बिर्सेको छैन त्यही लुडी उचाल्दा
गानो सरेर काले डाक्टरको बाट
झोल औसधी ल्याएर महिनौ
खुवाएको तलाइ -
मैले चोऔन्न सालमा अडतिस सय तिरेर
बेलबारी हटिया बाट ल्याएका हलगोरुलाइ
तैले जोत्न सिक्दै गर्दा
असारको मध्यमा फाली लागे पछी
झण्डै त्यस साल रोपाइ भा'को
याद मलाइ
तैले पनि बिर्सेको छैनस होला त्यो क्षण
हप्तौ दिन लागेको थियो मलाइ
माले गोरुको फाली लागेको खुट्टामा
तातो तेल बेसार लगाएर निको पार्न लाइ -
सँगै तैले असारे तातो पानीमा दिन भर जोतिरहदा
हिलोले खाएर पाकेका औला हरुलाइ
बेलुकी गुहाली मुनी धुवाइएको धुँवामा
खुट्टा सेकाउदै तेरी आमाले तेल लाइदिएको
सम्झना हराएका छैनन होला आँखा बाट
कि बिर्सिस ?
छोरा ! सम्झ्नछु ति दिन
अर्काको अधिया खेत जोतेरै भएपनी
सबै भन्दा ठुळो धानको कुन्यौ बनाएर
सँगै पनि कुन्यौको टुप्पोमा मखमली फुलको
डाँठ गाडेर सह आइज ...सह आइज भनेर कराएको क्षण
अनि
गर्छु भन्दा भन्दै
आँगनको अगाडी खलो तास्न तम्सदै गर्दा
फरुवाले तेरो पैताला तासे पछी
तेरी आमाले भुमिराज झार मिचेर
मजेत्रोले पैताला बाधीदिए पछी
मलाइ सन्चो भो भनेर भनेको तैले
कसरी बिर्सन्छु -
छोरा ! तेरी आमाले गाइ दुहुदै गर्दा
खरेटो लिएर टुक्रुक बस्थिस
गाइका खुट्टामा लागेको झिगा धपाउन
दुध दुही सके पछी चुल्लोको छेवैमा बसेर
कुडेमा टसिएको कुराउनीको माम्री
हेरिरह्न्थिस दुध नतातुन्जेल सम्म
छोरा तलाइ याद
खामारोको ठेकीमा माली गाइको दुध
जमेर बनेको दही
चोयाको डालामा झुसी अनधी धानका चिउरा -
तर छोरा तेरो.... परदेश सगै बाझिएकोछ खेत
अनि धमिरा लागेकाछन हलो, जुवा पटाहामा
तेरो बुढो बाबुको शरिर जस्तै भएको बारी
हलगोरु, बाउसे रोपाहार पाइदैनन छोरा
अचेल चामल, चिउरा तेल पनि
प्याकेटमा फल्न थालेको
तलाइ आस्धयै मन पर्ने दही जम्ने ठेकीमा
कमिलाले फुल पारेको -
हो छोरा ...आज असार पन्ध्र तैले तेरो छोरालाइ
पठाइदिएको फोटो देखिने मोवाइलमा
तैले त्यता दहि चिउरा खएको तस्विर देखे
खुशी लाग्यो कम्तीमा सबै दिन बिर्से पनि
यो दिन सम्झेको रैछस -
हुन छोरा!अर्को साल सम्ममा
हामीलाइ ठुलो जहाज चढाएर
तेरो सपनाको शहर घुमाउछु भन्दैछस
तर छोरा त्यो भन्दा अगाडी
हाम्रो एउटा इच्छा
यो बन्जर बनेको खेतमा तेरो उपस्थिति सगै
बेठी लगाएर ति बाउसे रोपाहार सगै बसेर
यस्तै असार पन्ध्रमा दहि चिउरा खाने
मेरो सानो इच्छा
के पुरा होला ?
 नवशिला
(
१५ असार २०७५)
स्थायी: बेलबारी -, लालभित्ती, मोरङ  हाल: गोदावारी, ललितपुर


Comments

Post a Comment

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई